काठमाडौं । गएको वर्ष २०७९ लाई सेयर बजार १९३४ अंकले बिदाइ गरेकोमा २०८० लाई भने २०२५ अंकले बिदाइ गर्यो । एक वर्ष लामो अवधिमा पनि सेयर बजार जम्मा ४।७ प्रतिशत मात्रै बढ्यो । यो वृद्धिदरमा पनि नयाँ कम्पनीको मूल्यवृद्धिले नै योगदान पुग्यो ।
यो वर्ष नेप्से २२२७ अंकभन्दा माथि जानै सकेन । साउन ७ मा नेप्से २२२७ अंकसम्म पुगेको थियो भने त्यसको एक महिनाअघि १ जेठमा न्यूनतम १८१८ अंकसम्म झरेको थियो ।
फेरिएका केही नीतिगत व्यवस्था
२०७९ सालमा लिइएका कसिला नीतिगत व्यवस्था २०८० मा केही सहज बनाएजस्तो गरियो । खासगरी ठूलो सेयर धितो कर्जामा जोखिमभार १ सय ५० प्रतिशत कायम गरिएकोमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा त्यसलाई १ सय २५ मा झारियो, जुन हाल कायम छ ।
त्यस्तै सेयर धितो कर्जामा जाने रकम व्यक्तिलाई १२ करोड रहेकोमा असोजमा निर्देशन मार्फत बढाएर १५ करोड कायम गरियो भने संस्थालाई १५ करोडबाट २० करोड पुर्याइयो । २०७९ को तुलनामा सहज, तर समग्रमा कसिलो नीति कायमै रह्यो ।
२० कात्तिकमा नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्डहरूलाई निर्देशन जारी गर्दै आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने व्यवस्था गर्यो ।
यसले आईपीओ सूचीकृतपछि म्युचुअल फन्डबाट बजार आउन सक्ने आपूर्ति ६ महिनासम्म नियन्त्रण गर्यो ।
सूचीकृत कम्पनीले ‘लकइन’ मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्था मंसिरमा गरियो । जुन व्यवस्था हाल लागु भइरहेको छ ।
नयाँ स्टक एक्स्चेन्ज खोल्नेरनखोल्ने विषय यो वर्ष विवादित बन्यो । त्यस्तै ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव, साना तथा मझौला कम्पनीको कारोबारका लागि छुट्टै प्ल्याटफर्म तयार गर्ने सम्बन्धी नियमावलीको मस्यौदा अर्थमै अड्किएको छ ।