पर्सालगायत सम्पूर्ण मधेसमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैते छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङलगायत मधेसभरिमा रहेका नदी, खोला, पोखरीलगायतका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ सम्पन्न भएको छ । चैते छठ पर्व पर्साको वीरगञ्ज, पोखरिया, विन्दवासिनी, बहुदरमाई, पर्सागढी, छिपहरमाई, जगरनाथपुरलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी सिर्सिया, तिलावे, सिंगाहा, घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ सम्पन्न भएको छ । सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।