वीरगन्जमा महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ । केहि साता देखि लामखुट्टेको प्रकोप बढेको गुनासो आएपछि महानगरपालिकाले बिहीबारदेखि महानगरका वडा–वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न लागेको हो ।
लामखुट्टेबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए । लामखुट्टेको लार्भा मार्नका लागि बिहानको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने तालिका रहेको उनले बताएका छन् ।
मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे महानगरको वडा नम्बर १, २, ३ र ४ मा छरिनेछ ।
यस्तै फाल्गुन २५ गते वडा नम्बर ५,६,७ र ८ मा, २६ गते ९,१०,११ र १२ मा, २७ गते १३,१४,१५ र १६ मा, २८ गते १७,१९,२५ र २६ मा, २९ गते १८,२०,२२ र २७ मा, ३० गते वडा नम्बरर २१,२३,२४ र ३० मा छरिनेछ । त्यस्तै चैत १ गते वडा नम्बर २८,२९,३१ र ३२ मा र चैत्र २ गतेदेखि पुनः दोस्रो राउण्डको स्प्रे सुरु गरिने पनि मियाँले जानकारी दिए ।