वीरगंज महानगरपालिकाले ‘वैभव वीरगंज’को परिकल्पना साकार पार्ने गरि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आजबाट सुरु भएको महानगरको १५ औँ नगरपरिषद्मा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि महानगरले लिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेको छ । वीरगञ्ज महानगरको १५ औँ नगरसभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा महानगरको बजेट शंसोधितसहित ३ अर्ब ५१ करोड रहेको महानगरपालिका सचिवालयले जानकारी दिएको छ ।
नगर सभामा प्रस्तुत आगामि आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत राखिएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब , २७ करोड ९० लाख लाख, संघीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।
त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उपमेयर आलमले भनेका थिए । बजेट प्रस्तुत गर्दै उपमेयर आलमले भने, ‘चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पचिस प्रतिशत रोक्का छ, घरजग्गा रजिष्ट्रेशन आयस्रोतसमेत घटेको छ । यी समस्याहरुको कारणलले आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको हो ।
समृद्द र वैभवशाली वीरगंज निर्माण गर्ने संकल्प र समस्त वीरगंजवासीको चाहाना बमोजिम वीरगंजलाई सुन्दर, समुन्नत र समृद्द बनाइने उल्लेख छ । यस्तै वीरगंजलाई थप स्वच्छ र सफा बनाउन ‘फोहोर गर्नेले नै सफा गर्दा लाग्ने खर्च’ दिनुपर्ने व्यवस्था आगामी आर्थिक वर्षबाट लागू गरिने पनि उल्लेख छ ।
बढ्दो खानेपानीको समस्या समाधानका लागि डीप बोरिङ तथा पाइपलाईन विस्तारलाई प्राथमिकता दिँदै यहाँ रहेका पोखरी, इनार तथा कुवाको संरक्षण गर्ने नीति लिएको छ ।अधिवेशनमा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको छ ।