मानव स्वास्थ्यमा असर पार्ने गरी खेतबारीमा विषादीको प्रयोग बढ्दै गएको विज्ञ बताउँछन् । बाली उब्जाउ बढाउनका लागि विषादीको प्रयोग बढ्दै गएको हो । जलवायु परिवर्तनका कारण बालीनालीमा लाग्ने नयाँ प्रजातिका रोग तथा किरालाई न्यूनीकरण गर्न विषादीको प्रयोग बढेको देखिन्छ ।
महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले नेपालमा पाँच वर्षमा विषादी आयात र पञ्जीकरण बढेको देखाएको छ । पछिल्लो पाँच वर्षमा विषादी पञ्जीकरणको संख्या ८६.८३ र आयातको परिमाण ४६.३ प्रतिशतले बढेको छ । यसरी विषादी आयात र पञ्जीकरणमा वृद्धि हुनु भनेको विषादीको प्रयोग बढ्नु हो ।
नेपालमा विषादीयुक्त तरकारी तथा फलफूलले स्वास्थ्यमा पार्ने प्रभावबारे अनुसन्धान हुन सकेको अवस्था छैन । तर बाहिरी मुलुकका विभिन्न अध्ययनले विषादीयुक्त खानाले तत्कालदेखि लामो समयपछि मानव स्वास्थ्यमा असर पार्ने देखिएको जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए ।
नेपालमा तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा झण्डै २ हजार वडाका बासिन्दा सचेत नभएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कृषि गणना २०७८ (सामुदायिक प्रतिवेदन) ले १ हजार ७३६ (१०.७ प्रतिशत) वडाका बासिन्दा यसप्रति सचेत नरहेको देखाएको छ ।
वडामार्फत प्राप्त विवरण अनुसार गणना गरिएका ६ हजार ३६ वडामध्ये ३ हजार ६५४ वडा ६०.५ का प्रतिशत बासिन्दा तरकारी बालीमा प्रयोग हुने विषादीका बारेमा आंशिक रूपमा सचेत पाइएको छ ।
खेतीबालीमा प्रयोग हुने विषादी कडाखाले रसायन हो । यसले छाला चिलाउने, श्वास नलीको माथिल्लो भागमा असर गरी रक्त सञ्चार प्रणालीमा छिर्ने, छालामा भएका ससाना प्वालबाट पसेर या खानामार्फत शरीरमा प्रवेश गरी मिर्गौला र फोक्सो काम नलाग्ने बनाइदिन्छ ।
नेपालमा विषादी आयात गर्दा बर्सेनी अर्बौं रकम खर्च भएको छ । सरकारी तथ्याङ्क अनुासर आर्थिक वर्ष २०७५–७६ मा ८ लाख ९ हजार ९३ केजी विषादी आयात हुँदा ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्ष २०७८–२०७९ मा ११ लाख ३५ हजार ५०४ केजी विषादी आयात भएकोमा १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष ०७९–०८० मा ११ लाख ८३ हजार ७४१ केजी विषादी आयात गर्दा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रकम बाहिरिएको छ ।
यस्तै, वर्ष २०७६–२०७७ मा ६ लाख ८१ हजार ६२७ केजी विषादी आयात भइ ७९ करोड ३८ लाख ३ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७७–२०७८ मा ७ लाख ८३ हजार ३४३ केजी विषादी आयात हुँदा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बाहिरिएको महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ मा उल्लेख छ ।
आर्थिक वर्ष २०७८–२०७९ मा ११ लाख ३५ हजार ५०४ केजी विषादी आयात भएकोमा १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष ०७९–०८० मा ११ लाख ८३ हजार ७४१ केजी विषादी आयात गर्दा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रकम बाहिरिएको छ ।
खेतबारीमा अत्यावश्यक बाहेकमा विषादी प्रयोग नगर्न विज्ञहरू सुझाव दिन्छन् । प्रयोग गर्नै परेको खण्डमा स्वास्थ्य सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ ।