बारामा भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर वडा नम्बर १६ मा भएको यात्रुवाहक बस दुर्घटनामा १४ जना घाइते भएका हुन् । आज बिहान मलङगवाबाट वीरगञ्जका लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको थियो ।
अन्य सवारीलाई ओभरटेक गरेर अगाडी जान खोज्दा सडक चिप्लो हुँदा बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा १ जना महिला गम्भिर घाइते भएकी छन् । रौतहटकी अन्दाजी ४२ वर्षकी सन्झा देवी गम्भिर घाइते भएकी हुन् ।
यस्तै दुर्घटनामा ३ जना मध्यम र अन्य सामान्य घाइते भएका प्रहरी बताउँछ । घाइतेहरुको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी जनायो । प्रहरीले बसका सहचालक मलङगवाका राकेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उता, नेपाल प्रहरीले सडकको अवस्था बुझेर मात्र लामो यात्रामा निस्कन आग्रह गरेको छ । मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन आग्रह गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको जानकारी दिए । मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै बन्द रहेको प्रहरीले जनाएको छ ।
वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको प्रवक्ता कार्कीले बताए ।
प्रहरीले सार्वजनिक गरेको सूचनामा मनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको जनाएको छ ।
सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । यता जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि तीन दिन देशभर मौसम बदली भई ठाउँठाउँमा वर्षा हुने सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।