दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना आएपछि शुक्रबार क्षमा पूजा गरिएको छ । एक हप्ताभित्र तीन पटक पसिना आएपछि संकट टार्नका लागि शुक्रबार राष्ट्रपति कार्यालयबाट पठाएको कालो बोका र पूजा सामग्रीसहित क्षमा पूजा गरिएको छ।
एक साताअघि शनिबार एकै दिन दुईपटक पसिना आएको थियो। एक हप्ता नपुग्दै फेरि बुधबार दिउँसो १२ः४५ देखि ३ः१५ सम्म लगातार पसिना आएको थियो। भीमेश्वरको पसिना पुछिएको कपास ‘महाप्रसाद’का रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति कार्यालयबाट क्षमा पूजा पठाउने प्रचलन छ।
शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। पसिना आएपछि राष्ट्र र जनताले कुनै पनि अनिष्टको सामना गर्नुनपरोस भनेर राष्ट्रप्रमुखले क्षमा पूजा पठाउने परम्परा छ । सोहीअनुरूप राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्री र जनताको तर्फबाट भीमेश्वरमा शुक्रबार बिहान ८ः३० बजेबाट क्षमा पूजा गरिएको दोलखा भीमेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठले बताए।
सरकारका तर्फबाट राष्ट्रपति कार्यालयबाट उपसचिव, प्रमुख जिल्ला अधिकारी,जनताकातर्फबाट जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा नागरिकहरूबाट क्षमा पूजा गरिएको हो। बिहीबार बेलुका राष्ट्रपति कार्यालयबाट उपसचिव दुईवटा कालोबोका र पूजा सामग्रीसहित दोलखा आएका हुन्।
मुलुकमा अनिष्ट हुनु अघि भीमेश्वरको शिलामा पसिना आउने गरेको कारण पसिना आउनुलाई अनिष्टको सूचकका रुपमा विश्वास गरिन्छ। मन्दिर व्यवस्थापन समितिका अनुसार राजा ग्रिवाणयुद्ध विरविक्रम शाहको पाला देखी पसिना आएको रेकर्ड भेटिन्छ।
२०७७ सालको कोरोना महामारी, २०७२ सालको भुईँचालो र राजनीतिक परिवर्तन, जुरे पहिरो, गणतन्त्र घोषणा, २०६२र०६३ को जनआन्दोलन, राजदरबार हत्याकाण्ड, २०४६ सालको जनआन्दोलन, २०४५ सालको भूकम्प, २०३६ सालको जनमत संग्रह, राजा महेन्द्र र त्रिभुवनको स्वर्गारोहण, २००७ सालको क्रान्ति, १९९७ सालमा चार सहिदलाई फाँसी, १९९० सालको भूकम्प सहित मुलुकमा विभिन्न घटनाक्रम हुनु अघि विभिन्न समयमा भीमेश्वरको सिलामा पसिना आएको रेकर्ड मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितिमा रहेको समिति अध्यक्ष भरतबहादुर श्रेष्ठले बताए।