राजनीतिक समीकरण बदलिए सँगै कांग्रेस–एमालेको संयुक्त सरकार बनेको दुई सातापछि सचिवहरु परिवर्तन गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एकैपटक २१ जना सचिवको सरुवा गरेको छ ।
बैठकले अर्थ, सञ्चार, उर्जा, संघीय मामिला, अख्तियारगायतका अति महत्वपूर्ण मन्त्रालय र आयोगहरुमा सचिव परिवर्तन गरेको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार अर्थ सचिवमा रामप्रसाद घिमिरेलाई सरुवा गरिएको छ । उनी अर्थमा राजस्व सचिवको रुपमा कार्यरत थिए । राजस्व सचिवमा भने वाणिज्य मन्त्रालयबाट दिनेशकुमार घिमिरेलाई ल्याइएको छ ।
अर्थ सचिव मधु मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सञ्चार सचिवमा उपराष्ट्रपति कार्यालयमा रहेकी राधिका अर्याललाई ल्याइएको छ । उनी पहिलो महिला सञ्चार सचिव बनेकी छन् । शक्तिशाली मन्त्रालयको रुपमा रहेको गृह मन्त्रालयमा एकनारायण अर्याललाई यथावत राखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मन्त्रालयमा भरतमणि सुवेदीलाई लगिएको छ । उनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा थिए । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
उनी पूर्व अर्थ सचिव हुन् । भूमिका गोकर्णमणि दुवाडीलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामेश्वर दंगाललाई रक्षा सचिवमा पठाइएको छ भने रक्षाका किरण शर्मालाई प्राकृतिका स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गरिएको छ भने उर्जा आयोगका केशवकुमार शर्मा बिडारीलाई भौतिक मन्त्रालयको सचिव बनाइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ । नेपाल ट्रष्टमा रहेकी प्रमिलादेवी बज्राचार्यलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने सतर्कता केन्द्रमा रहेका रामआधार साहलाई नेपाल ट्रष्टमा सरुवा गरिएको छ ।