एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने चल्न छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गर्ने गरिएको हुँदा हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ । काठमाण्डौ उपत्यकासहित नेवार समुदाय रहेका देशका विभिन्न ठाउँमा आज गाईजात्राको विशेष रौनक हुन्छ ।
गाईजात्रा पर्व काठमाण्डौ उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत नेवार समुदायकाको विशेष उपस्थिति रहेका शहरमा धुमधामका साथ मनाइन्छ ।
यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यो पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । आज काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक बिदा छ ।
त्यसैगरी वीरगंजमा पनि गाइजात्रा भव्ययताको मनाइएको छ । बीरगंजको नेवार समुदायले मृत्यु भएका ब्यक्तिहरुको समझनामा गाईजात्रा निकालेको छ । बीरगंज सापारु समितिले मंगलबार बीरगंजमा नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको समझनामा गाईजात्रा निकालिएको छ।
बीरगंजको अलखियामठबाट अध्यक्ष संजय जोशीको नेतृत्वमा ¥याली शुरु भइ विभिन्न भेषभुषामा रुपमा बालबालिकाहरुलाई सजइ मुख्य सडक हुदै माइस्थान दुई नम्बर रोड,बिर्ता हुदै पुर्न फेरि अलखियामठमा आएर समापन गरिएको हो । नेवार समुदायको आफ्नो घर परिवारका सदस्य मृत्यु भएको खण्डमा समझाना स्वरुप उक्त गाईजात्रा मनाउने चलन रहेको अध्यक्ष जोशीले बताए ।
गाईजात्रालाई सफल बनाउन अलखियामठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठ ,बीरगंज सापारु समितिका सचिव सुन्दर श्रेष्ठ ,नेवा पुचका अध्यक्ष हरि बैध,सुनिल जोशी ,अमृता बैध,रुपेमान मानन्धर ,निरज हरिमुल,तारामान श्रेष्ठ ,हिराकाजी महर्जन ,सुशील श्रेष्ठ लगायतको विशेष भुमिका रहेको बीरगंज सपारु समितिका अध्यक्ष संजय जोशीले बताएका छन् ।